पोखरा । पोखराको कास्की बास्केटबल संघले लिनिङ थ्री बाई थ्री वेष्ट बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा बिहिबार भएको फाइनलमा कास्कीले धनगढीको टाइम्स क्लब 'ए' लाई २१–१४ ले पराजित गर्दै उपाधि आफ्नो बनायो ।
उपाधिसँगै कास्कीले ५० हजार प्राप्त गर्दा टाइम्सले २५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर कास्कीका सोनाम पुन घोषित भए । उनले फाइनल्समा कुल ४० स्कोर गरेका थिए । उनले लिनिङको जुत्ता पाए ।
नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आयोजना गरेको थ्री बाई थ्री वेष्टको फाइनल्समा ६ टोलीले स्थान बनाएका थिए । पश्चिमका तीन शहरहरु पोखरा, बुटवल र धनगढीका विजेता र उपविजेताले फाइनल्समा खेलेका थिए ।
नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको चौथो कार्यक्रम हो । यसअघि नेपाल बास्केटबल लिगले थ्री बाई थ्री इस्टको पनि आयोजना गरेको थियो । त्यस्तै काठमाडौंमा महिला र पुरुष नेपाल बास्केटबल लिग पनि गरिसकेको छ । आयोजकले थ्री बाई थ्री सेन्ट्रलको पनि आयोजना गर्ने बताएको छ ।