काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनलमा आर्मीलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मीमाथि एपीएफले २५-२२, २५-२२ र २६-२४ को सेटमा जित निकाल्यो ।
एपीएफसँगको लज्जास्पद हारसँगै आर्मीले अब तेस्रो स्थानको लागि खेल्ने भएको छ ।
अब उपाधिका लागि एपीएफले पुलिस र हेल्प नेपालबीचको विजेतासँग खेल्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
सर्वोकृष्ट खेलाडीले २५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।