काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३-० को सेटमा जित निकाल्दै न्यू डायमण्डले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
फाइनल पुग्ने क्रममा न्यू डायमण्डले आर्मीमाथि २५-१५, २५-२२ र २५-१३ को सेटमा जित निकाल्यो ।
यस अघि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
विभागीय डर्बीमा एपीएफले पुलिसमाथि २५-१५, २५-१६ र २५-२२ को सेटमा जित निकालेको थियो ।
अब एपीएफ र न्यू डायमण्डबीचको फाइनल खेल शुक्रबार हुनेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलाको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
सर्वोकृष्ट खेलाडीले २५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।