काठमाडौं । नेपाल पुलिस क्लब राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँ बजारलाई २५-११, २५-१० र २५-१२ को सेटमा पराजित गर्यो ।
अब पुलिसले सेमिफाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा हेल्पले बुलबुले रारा क्लबलाई ३-० को सेटमा हराएर पुलिससँगको भेट पक्का गरेको हो ।
हेल्पले बुलबुलेमाथि २५-१६,२५-२० र २५-१९ को सेटमा जित निकाल्यो ।
पुलिस र हेल्प सेमिफाइनल पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।
पहिलो क्वाटरफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले सहज प्रतिद्वन्द्वी मणिमुकुन्दमाथि २५-१९,२५-१८ र २५-१७ को सेटमा जित निकालेको थियो ।
यस्तै दोस्रो क्वाटरफाइनलमा एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा हराएर आर्मीसँगको भेट पक्का गरेको थियो । एपीएफले बुद्धटोलमाथि २५-१८, २५-१७ र २५-११ को जित हात पार्यो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनल खेल बिहिबार हुनेछ । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।