काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीले सहज प्रतिद्वन्द्वी मणिमुकुन्दमाथि २५-१९,२५-१८ र २५-१७ को सेटमा जित निकाल्यो ।
अब आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबसँग खेल्नेछ ।
दोस्रो क्वाटरफाइनलमा एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा हराएर सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
एपीएफले बुद्धटोलमाथि २५-१८, २५-१७ र २५-११ को जित हात पार्यो ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा पुग्ने दुई टोलीको भने टुंगो लाग्न बाँकी रहेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।