काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही पछिल्लो समय न्यु डाईमण्ड स्पोर्ट्स क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आईरहेकी छिन् ।
घरेलु टिम गण्डकी प्रदेशले सहभागिता नजनाएको अधिकांस प्रतियोगितामा अरुणाले न्यु डाईमण्डबाट खेल्ने गर्छिन ।
पुस अन्तिम साता आयोजना भएको होग्वान्जी न्यु डाईमण्ड कप भलिबलमा अरुणाले न्यु डाईमण्डबाट खेलेकी थिइन् । आयोजक न्यु डाईमण्ड उपविजेता बनेको थियो ।
अहिले चलिरहेको पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पनि अरुणाले न्यु डाईमण्डको जर्सी लगाएकी छिन् ।
राष्ट्रिय टिमका सेटर समेत रहेकी अरुणा घरेलु प्रतियोगितामा किन न्यु डाईमण्ड रोज्ने गर्छिन त ?
न्यु डाईमण्ड रोज्नु अरुणाको खास कारण छैन । तर, राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा हुनु र टिमको पारिवारिक माहोलले नै अरुणालाई न्यु डाईमण्डले आकर्षित गर्यो ।
‘डाईमण्डबाट खेल्दा धेरै खुशी छु,' अरुणा भन्छिन्, ‘यहाँको माहोल पारिवारिक भएकाले खेल्न सहज पनि भएको छ ।’
अरुणा आरबीबी कपमा गण्डकी प्रदेशबाट खेल्ने योजनामा थिइन् । तर, टिमले सहभागीता नजनाएपछि डाईमण्डबाट खेलेकी हुन् ।
‘पहिला चितवन टाईग्रेसबाट खेलेको थिए र अहिले पनि अफर आएको थियो तर खेलिन । होग्वान्जी कपमा डाईमण्डबाट खेलेको थिए त्यसैले अहिले पनि यहिँ टिमबाट खेले,’ अरुणाले भनिन् ।
गण्डकी प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा भने आफुले न्यु डाईमण्डबाट नखेल्ने उनको भनाई छ ।
‘अबको प्रतियोगितामा गण्डकी प्रदेशले सहभागिता जनाउने भयो भने त्यहीबाट खेल्छु किनकि उतैबाट जन्मिएको खेलाडी हुँ । खेल्नु नै पर्छ तर आएन भने डाईमण्डबाटै खेल्छु,’ अरुणा भन्छिन् ।
अरुणाले डाईमण्डमा साना उमेरका खेलाडीहरु भएपनि उनीहरुसँग खेलको धेरै अनुभव भएकाले जुनियरसँग खेलेको जस्तो महसुस नहुने समेत बताईन् । यस्तै, अरुणाले घरेलु टिमबाट भन्दा अर्काे टिमबाट खेल्दा दबाब हुने बताईन् ।
‘आफ्नो क्लबबाट खेल्दा दबाब धेरै हुँदैन तर अर्काे क्लबबाट खेल्दा अलिकति भएपनि दबाब हुन्छ,' उनले भनिन्, 'किनकि बिग्रियो भने मलाई भन्ने होकि भन्ने सोच आउछ ।’
अरुणाले आरबीबी कपमा टिमको लक्ष्य सेमीफाइनल पुग्ने र त्यसपछि फाइनलको लागि योजना बनाउने समेत बताईन् । उनले न्यु डाईमण्ड कपमा टिमको समन्वय नमिलेका कारण फाइनलमा हार व्यहोर्नु परेको बताईन् ।
‘त्यतिबेला हाम्रो सर्भिस र ब्लक कमजोर देखिएको थियो । प्रतियोगिता सुरु हुनुभन्दा एकदिन अगाडी डाईमण्डमा गएको थिए त्यसैले मेरो टिमसँग अभ्यासको कमीले गर्दा खेलमा समन्वय मिलेको थिएन,' अरुणाले भनिन्, 'त्यही नै हाम्रो कमजोरी भयो ।’