काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको समूह चरणको दोस्रो खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी समूह 'ए' को विजेता बनेको हो ।
समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्मीले नयाँ बजारलाई २५-१०, २५-१८ र २५-१९ ले पराजित गर्यो ।
जितसँगै समूह विजेता बन्ने क्रममा आर्मीले २ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा आर्मीले आरजी ग्रुपलाई हराएको थियो ।
आर्मीसँग पराजित नयाँ बजार उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ । नयाँ बजारले २ खेलमा ३ अंक जोड्यो । नयाँ बजारले पहिलो खेलमा आरजीलाई नै हराएको थियो । दुई खेलमा हार व्यहोरेको आरजी भने बाहिरिएको छ ।
पुरुषतर्फ समूह बीको खेलमा बुलबुले रारा क्लाबले जावलाखेल भलिबल केन्द्रलाई २५-११,२५-५ र २५-१३ ले हराएको छ ।
जितसंगै बुलबुलेले क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।