काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित पुलिसले ढोरपाटनलाई २५-५, २५-१५ र २५-८ ले पराजित गर्यो ।
जितसँगै समूह 'बी' को पुलिसले २ खेलमा ३ अंक जोडेको छ । र, पुलिस सेमिफाइनल नजिक पुगेको छ ।
यस समूहमा न्यू डायमण्डको पनि ३ अंक रहेको छ । अब न्यू डायमण्ड र ढोरपाटनबीच हुने समूह चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको तय गर्नेछ ।
ढोरपाटनलाई पराजित गरेको खण्डमा न्यू डायमण्ड समूह विजेता र पुलिस उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
महिलातर्फ सोमबार भएको दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सेटमा हराएर सान्त्वना जित निकालेको छ ।
प्रतियोगिताबाट बाहिरिसकेको भरतपुरले जावलाखेललाई २५-८, २५-९ र २५-१५ ले हराएको छ । जितसँगै समूह 'ए' बाट भरतपुरले ३ अंक जोड्यो । जावलाखेल अंक विहीन बन्दै प्रतियोगिताबाट बाहिरियो ।
यस समूहबाट एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।