काठमाडौं । साविक विजेता एपीएफ क्लबले राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले भरतपुरलाई २५-११, २५-१२ र २५-१० ले पराजित गर्यो ।
जितसँगै समूह 'ए' को एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराएको थियो ।
अब एपीएफले समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा भरतपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भरतपुर आर्मीसँग पराजित भएको थियो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।