काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब समूह विजेता बन्दै पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा पराजित हेल्प समूह विजेता बनेर अन्तिम आठमा पुगेको हो ।
हेल्पले बुद्धटोललाई २५-१०,२५-१५ र २५-११ को सेटमा पराजित गर्यो । जितसँगै समूह 'डी' को हेल्पले ३ अंक जोड्यो ।
हेल्पसँग पराजित बुद्धटोल पनि उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । यस समूहमा दुई टोली मात्र रहेको कारण दुवै टिम क्वाटरफाइनलमा पुगेको हो ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ समूह 'ए' बाट त्रिभुवन आर्मी र नयाँ बजार सामाजिक युवा क्लब क्वाटरफाइनलमा पुगिसकेको छ ।
यस्तै समूह 'सी' बाट नेपाल पुलिस क्लब मणिमुकुन्द भलिबल क्लबले पनि अन्तिम आठको यात्रा तय गरिसकेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।