काठमाडौं । नयाँ बजार सामाजिक युवा क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार भएको खेलमा आरजी ग्रुपलाई ३-० को सेटमा पराजित नयाँ बजार क्वाटरफाइनलमा पुगेको हो ।
नयाँ बजारले आरजीमाथि २५-२०,२५-१६ र २५-१८ ले हरायो । जितसँगै समूह 'ए' बाट नयाँ बजारले अन्तिम आठको यात्रा तय गरेको हो । आरजी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आरजीले दुई खेलमा दुई हार व्यहोर्यो । पहिलो खेलमा आरजी त्रिभुवन आर्मीसँग पराजित भयो । यस समूहबाट आर्मीले क्वाटरफाइनलको यात्रा तय गर्यो । अब आर्मी र नयाँ बजारबीचको खेल समूह विजेताको टुंगो लाग्ने छ । यस समूहबाट दुबैको ३/३ अंक रहेको छ ।
पुरुषको अर्को खेलमा नेपाल पुलिस क्लबले वाक ओभर पाएको छ । पार्वती भलिबल क्लब नआएपछि पुलिसले वाक ओभर पाएको हो ।
वाक ओभर पाएसँगै समूह 'सी' बाट पुलिस क्वाटरफाइनलमा पुगेको छ । यस्तै यस समूहबाट मणिमुकुन्द भलिबल क्लबले पनि अन्तिम आठको यात्रा तय गरेको छ । अब पुलिस र मणिमुकुन्दबीचको खेल समूह विजेता र उपविजेता तय हुनेछ ।
समूह ‘डी’ बाट हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब सिधै क्वाटरफाइनल पुगिसकेको छ । यस समूहमा दुई टिम मात्र रहेको कारण दुवै टिम अन्तिम आठमा पुगेको हो ।
महिलातर्फ शनिबार एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० सोझो सेटमा पराजित गरेको छ । साविक विजेता एपीएफले जावलाखेलमाथि २५-४,२५-८ र २५-८ को सेटमा जित निकाल्यो ।
जितसँगै समूह 'ए' एपीएफले ३ अंक जोड्यो ।
यसै समूहको अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले भरतपुरलाई २५-८,२५-२० र २५-१० ले हरायो । आर्मीले पनि ३ अंक जोडेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।