काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको महिलाको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको रोमान्चक खेलमा न्यू डायमण्डले पुलिसमाथि १७-२६,२५-१८,२३-२५,२५-१७ र १५-११ को सेटमा जित निकाल्यो ।
जितसँगै समूह 'बी' को न्यू डायमण्डले महत्वपूर्ण २ अंक जोडेको छ । पुलिसले भने हारबाट सुरुवात गरेको छ ।
पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
आर्मीले आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गर्यो । सुखद सुरुवात गर्ने क्रममा आर्मीले आरजीलाई २५-९, २५-१६ र २५-९ ले पराजित गर्यो ।
यस्तै एपीएफले रारा बुलबुले क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । एपीएफले खेलमा पहिलो सेट २३-२५ ले गुमाएको थियो । तर, त्यसपछिका तीन सेट लगातार २५-१२, २५-२० र २५-१८ ले जित्दै एपीएफले खेल आफ्नो बनाउन सफल भयो ।
प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।