काठमाडौं । द गोर्खाजकी प्रिस्का मगरले दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको महिला क्याडेट १२–१४ वर्षको १८ केजीमुनि बिहीबार स्वर्ण जितेकी छन् ।
फाइनलमा प्रिस्काले इसीडिसीकी पुष्पाञ्जली बस्नेतलाई पराजित गरिन् ।
यू–१२ महिला पुम्सेको हरियो पेटीमा खोटाङकी आशिका तामाङ, रातो पेटीमा चितवनकी आचल बजगाईं र कालो पेटीमा कोटेश्वरकी सन्ध्या लामाले शीर्ष स्थान हात पारे ।
अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाद्वारा आयोजित प्रतियोगिताको महिला २४ केजीमुनि बुटवलकी अनुष्का तामाङ तथा २२ केजीमुनि ढल्कुकी याञ्चेन लामा पहिलो भए ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको पुरुष २४ केजीमुनि निजगढका प्रशान्त कुँवर, २६ केजीमुनि लैनचौरका सुगम भुजेल, २८ केजीमुनि युनाइटेडका निशान्त श्रेष्ठ, २० केजीमुनि दिलिप स्मृतिका तनिश बस्नेत र १८ केजीमुनि गोदावरीका सफल महर्जनले पहिलो स्थान हात पारे ।
यु–१२ पुरुष पुम्सेको हरियो पेटीमा लैनचौरका अनिश लामा, रातो पेटीमा कोटेश्वरका यज्ञ राई, कालो पेटीमा गोदावरीका श्रृजल श्रेष्ठ र हरियो पेटीमा सीतापाइलाका आयुश सुयाल पहिलो बने ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।