काठमाडौं । चौतारा नगरपालिका र ललितपुर महानगरपालिका राजधानीमा जारी महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै चौतारा समूह 'ए' बाट क्वाटरफाइनलमा पुगेको हो ।
चौताराले भक्तपुरलाई २५-१४, २५-२१ र २५-२१ को सेटमा पराजित गर्यो । जितसँगै चौताराले २ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो ।
यस समूहबाट ४ अंक जोडेको ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई खेलमा पराजित भक्तपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह 'सी' बाट महालक्ष्मी समूह विजेता र पनौती उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट टोखा बाहिरिएको छ ।
पुरुषकै समूह 'डी' मा कमलामाई नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार कमलामाईले गोदावरीलाई २५-१३, २५-१८ र २५-१८ को सेटमा पराजित गर्यो । यस्तै गोकर्णेश्वरले धुलिखेललाई २५-२३, २५-१४ र २५-१९ को सेटमा हराएको छ ।
चार टिम रहेको यस समूहमा कमलामाईको ६ अंक रहेको छ । गोदावरी र गोकर्णेश्वरको ३/३ अंक रहदा धुलिखेल अंक विहीन रहेको छ ।
महिलातर्फ चन्द्रागिरीले बनेपालाई २५-७, २५-९ र २५-५ को सेटमा हराएको छ । जितसंगै समूह 'ए' को चन्द्रागिरीले ३ अंक जोडेको छ । यस समूहमा ललितपुरको पनि ३ अंक रहेको छ । बनेपाले अंक जोड्न सकेको छैन ।
महिलातर्फ नै गोकर्णेश्वरले हेटौडालाई २५-१६, २५-११ र २५-२२ ले हराएर दोस्रो जित निकालेको छ । यस्तै विदुरले टोखालाई २५-२२, २५-५,२३ -२५ र २५-५ ले हराएको छ ।
यस समूह 'बी' मा गोकर्णेश्वरको ६ अंक रहेको छ । हेटौडा र विदुरको ३/३ अंक रहदा टोखाले अंक जोड्न सकेको छैन ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।