काठमाडौं । बनेपा नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार किर्तिपुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो ।
बनेपाले किर्तिपुरलाई २५-१०, २५-१३ र २५-२१ को सेटमा पराजित गर्यो ।
जितसँगै समूह बी को बनेपाले ३ अंक जोड्यो । किर्तिपुर भने दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा किर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो । किर्तिपुरले लगातार दुई खेलमा पराजित भएसँगै कागेश्वरी पनि क्वाटरफाइनलमा पुगेको हो ।
अब यस समूहबाट बनेपा र कागेश्वरीबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ ।
पुरुषतर्फको अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई २५-२१, १९-२५,२५-१९ र २५-२१ को सेटमा हराएको छ । जितसँगै समूह ए को चौताराले ३ अंक जोडेको छ । ललितपुरको पनि ३ अंक रहेको छ ।
पुरुषतर्फ आइतबार भएको खेलमा महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई २५-१४,२५-२३ र २५-२१ को सेटमा पराजित गरेको छ । त्यस्तै कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि २५-२१,२५-१८ र २५-१९ को सेटमा जित निकालेको छ ।
पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिकाले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह 'सी' बाट महालक्ष्मी समूह विजेता र पनौती उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट टोखा बाहिरिएको छ ।
महिलातर्फ ललितपुर महानगरपालिकाले बनेपालाई ३-० को सेटमा हराएको छ । ललितपुरले बनेपामाथि २५-५,२५-११ र २५-१८ ले पराजित गरेको हो ।
जितसँगै समूह ए को ललितपुरले ३ अंक जोडेको छ । बनेपाले अंक जोड्न सकेको छैन ।
महिलातर्फ नै हेटौडाले टोखालाई २५-१७, २५-२१ र २५-१७ को सेटमा हराएको छ । त्यस्तै अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५-१७,२५-११ र २५-५ ले हराएको छ ।
समूह बी को हेटौडा र गोकर्णेश्वरले ३/३ अंक जोडेको छ ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।