काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता बक्सिङ खेलाडी नगदसहित सम्मानित भएका छन् ।
बेलायतमा बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेता तीन खेलाडीलाई बिहिबार नगदसहित सम्मान गरेको हो ।
सागमा नेपालले बक्सिङमा तीन स्वर्ण जितेको थियो । नेपालका भुपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङले स्वर्ण जितेका थिए ।
स्वर्ण विजेता तीनै खेलाडीलाई बस्नेतले जनही २५/२५ हजार नगदले सम्मान गरेको हो । बक्सिङ प्रशिक्षक ओम मास्केको पहलमा बस्नेतले खेलाडीलाई नगदबाट सम्मान गरेको हो ।

बस्नेतले लण्डनबाट पठाएको रकम नेपाल बक्सिङ संघले बिहिबार प्रदान गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले खेलाडीलाई नगद प्रदान गरे । सो अवसरमा संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा रजत र कास्य विजेतालाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।