काठमाडौं । नेपाली पुरुष भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ रहेको टिम गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको पुरुष भलिबल लिगमा तेस्रो जित निकालेको छ ।
मालेमा आइतबार राति भएको खेलमा गुडिसले सिटी स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गरेको हो ।
तेस्रो जित निकाल्ने क्रममा गुडिसले ३१-२९, २५-१८ र २५-१० को सेटमा जित निकाल्यो । सिटी स्पोर्ट्स क्लब मानबहादुरको पूर्व क्लब समेत हो । मानबहादुरले सन् २०१८ मा सिटीबाट खेलेका थिए ।
यस सिजन सिटी स्पोर्ट्सबाट नेपालका अर्का खेलाडी विकास गुरुङले खेलिरहेका छन् ।
यस अघि गुडिसले पहिलो खेलमा स्पोर्ट्स क्लब हक्सलाई ३-० को सोझो सेटमा हराएको थियो । तर, दोस्रो खेलमा गुडिस धिहेबी क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
तेस्रो खेलमा गुडिसले पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।