काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा मालीले माल्दिभ्सको लिगपछि आफुमा आत्मविश्वास बढेको बताएकी छिन् ।
गत महिना माल्दिभ्समा सम्पन्न माल्दिभ्सको राष्ट्रिय महिला भलिबल लिग खेलेर नेपाल फर्किएकी प्रतिभाले खेलपाटीसँग कुरा गर्दै प्रतियोगिताले खेलका लागि चाहिने आत्मविश्वास बढेको बताएकी हुन् ।
‘आत्मविश्वास भनेको जति खेल्यो त्यति बढ्ने हो । पुरस्कार पाएर बढ्ने भन्ने हैन । तर, पुरस्कार पाउँदा खुशी छु । प्रतियोगितापछि आत्मविश्वास अझै बढेको जस्तो लागेको छ ।’ प्रतिभाले भनिन् ।
माल्दिभ्सको पुलिस क्लबबाट खेलेकी प्रतिभाले क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । प्रतिभा पाँच खेलमध्ये तीन खेलमा ‘वुमन अफ दी म्याच’ समेत घोषित भएकी थिईन् ।
यस्तै, उनले विदेशी खेलाडीसँग खेल्न पाउँदा नयाँ अनुभवहरु बटुलेको बताईन् ।
‘खेल जति खेल्यो त्यति नै राम्रो हुने हो । विदेशी खेलाडीसँग खेल्न पाए, खुशी लागेको छ,' प्रतिभाले भनिन्, 'नयाँ अनुभवहरु पनि बटुलेजस्तो लागेको छ ।’
पुलिस टिम च्याम्पियन बन्दा प्रतिभा कुनैपनि सेटमा परिवर्तन भएकी थिइनन् ।
प्रतिभाले पहिला भन्दा यस पटक माल्दिभ्सको लिग खेल्न निकै सहज भएको बताईन् ।
‘पुलिस आफैमा बलियो टिम थियो । टिममा धेरैजना राष्ट्रिय खेलाडीहरु थिए । पहिला भन्दा यस पटक खेल्न सजिलो भयो । प्रतियोगिता जित्यौ खुशी छु, टिमका सबैजना खुशी छौं,’ प्रतिभाले भनिन् ।
प्रतिभाको उच्च प्रर्दशनमा नेपालले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक हात पारेको थियो ।
यस्तै बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा नेपाललाई स्वर्णपदक दिलाउन प्रतिभाले महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।