काठमाडौं । मिनु गुरुङ र भुपेन्द्र थापाले चीनमा हुने एसियन ग्रान्डस्लाम बक्सिङ च्याम्पियनसिप खेल्ने भएका छन् ।
चीनको फज्याङ प्रान्त अन्तर्गत जिङ्गयाङ्ग हुने एसियन च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले खेल्ने भएका हुन् । प्रतियोगिता डिसेम्बर २० देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
मिनु र भुपेन्द्रले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका थिए ।
मिनुले महिला ५४ केजी समूह र भुपेन्द्रले पुरुष ६४ केजी समूहमा स्वर्ण जितेका थिए ।
मिनुले ५४ केजी र भुपेन्द्रले ६४ केजी समूहमा च्याम्पियनसिप खेल्नेछन् ।
चीन खेल्न जाने खेलाडीलाई मंगलबार एक कार्यक्रमका बीच बिदाई गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले चीन जाने तीन खेलाडीलाई बिदाई गरेका थिए ।
टोलीको प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा रहेका छन् । टिम म्यानेजरमा शोभाजंग केसी रहेका छन् ।
बक्सिङ संघको सम्मान
नेपाल बक्सिङ संघले सागका स्वर्ण पदकधारी तीन खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।
संघले सागमा स्वर्ण जित्ने मिनु गुरुङ, सहिल शाही र भुपेन्द्र थापालाई जनही २ लाख सहित सम्मान गरेको हो ।
संघका अध्यक्ष राम अवालेले जनही १ लाख ५० हजार र संघका संस्थापक अध्यक्ष विण्णुगोपाल श्रेष्ठले जनही ५० हजार रुपैयाँ खेलाडीलाई प्रदान गरेका थिए ।
संघका अध्यक्ष अवाले र राखेपका सदस्य सचिव रमेश सिलवालले मंगलबार एक कार्यक्रमका बीच खेलाडीलाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव सिलवालले सबैको सहयोगमा सागमा ऐतिहासिक सफलता हासिल गरिएको बताए । उनले अब १४ औं सागको तयारीमा जुट्नुपर्ने बताए ।