काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको पुर्व सन्ध्यामा थाइल्याण्डमा चार राष्ट्रबीच भएको मैत्रीपूर्ण बक्सिङ खेलमा नेपालकी संगीता सुनार र पुनम रावलले जित निकालेका छन् ।
बैंककमा भएको खेलमा संगिताले ५७ केजी तौल समूहमा थाईल्याण्डकी मुक्केवाज बुन्याबचलाई अंकको आधारमा हराईन् । त्यसअघि पहिलो दिन बिहिबार भएको खेलमा संगीताले फिलिपिन्सका खेलाडीलाई पनि हराएकी थिइन् ।
त्यस्तै पुनमले ६० केजी तौल समूहमा थाईल्याण्डकै मुक्केवाज अपिसाडा हामरलाई अंककै आधारमा स्तब्ध बनाईन् । पहिलो खेलमा भने पुनम फिलिपिन्सका खेलाडीसंग पराजित भएकी थिइन् । यस्तै नेपालकी विमला श्रेष्ठ पनि फिलिपिन्सकै खेलाडीसंग पराजित भईन् ।
एसियन गेम्सको पुर्व सन्ध्यामा नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामका खेलाडीबीच मैत्रीपूर्ण खेल भएको हो । एसियन गेम्सको तयारीको लागि ४५ दिने बिशेष प्रशिक्षण गर्न नेपाली टोली थाइल्याण्डमा रहेका छन् ।