पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बिच भलिबलमा नेपालले कास्य पदक जितेको छ ।
पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गर्दै कास्य हात पारेको हो ।
नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।
पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिए ।
श्रीलंकाको महिला र पुरुष दुबैतर्फ २÷२ टिम फाइनल पुग्दै स्वर्ण र रजत जित्न सफल भए ।
पुरुषतर्फ श्रीलंकाको प्रदीप आसंका र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सेटमा हराउँदै स्वर्ण जित्यो ।
महिलातर्फ श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जित्न सफल भयो ।
पुरुषतर्फ पाकिस्तानले कांस्य जित्यो । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर कांस्य जित्न सफल भयो ।