काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङतर्फ नेपालकी माला राई र सनिल शाही स्वर्ण पदक नजिक पुगेका छन् ।
सातदोबाटोमा आइतबार भएको सेमिफाइनलमा महिला ५१ केजीमा मालाले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन् । अब मालाले स्वर्णका लागि भारतकी पिंकी रानीसँग खेल्ने छिन् ।
यस्तै पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई पराजित गर्दै सनिलले पनि फाइनलमा स्थान बनाए ।
पुरुष ८१ केजी तौलको सेमिफाइनलमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । खेल सुरु भएको ३० सेकेन्ड नबित्दैे भारतीय मुक्केबाजलाई चोट लागेपछि रेफ्रिले प्रधानलाई विजयी घोषित गरेका हुन् ।
योसँगै नेपालका ९ खेलाडी फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबारबाट सुरु हुनेछ ।
५७ केजी महिलामा नेपालकी चन्द्रकला थापा भने श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापुरायालागसंग पराजित भइन् । लंकापुरायालागे भारतकी सोनिया लाथेरसंग स्वर्णका लागि खेल्ने छन् । लाथेर भने पाकिस्तानकी मेहरीनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् ।
महिला ६४ केजीमा भारतकी मन्जु बम्बोरियाले पाकिस्तानकी रुकशाना परभीनलाई हराउँदै फाइनलमा स्थान बनाइन् ।