पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबलमा नेपालको चारै टिमले जित निकालेको छ ।
पहिलो दिन खराब प्रदर्शन गरेको नेपालको पुरुष र महिला टिमले शुक्रबार भने जित निकाल्न सफल भयो ।
नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्यो । राजु विक र सञ्जु शाहको जोडीले बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद अलि शाहको जोडीलाई २२–२० र २१–१६ को सेटमा पाखा लगायो ।
महिलातर्फ नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–५ र २१–६ ले पराजित गर्दै दर्शकलाई खुसी दिलाए । खुट्टाको चोटका बाबजुत पनि नेविकाले उत्कृष्ट प्रदर्शन गरिन् ।
नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीले माल्दिभ्सकै जिनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–१२ को सजिलो सेटमा हरायो ।
शुक्रबार पहिलो खेलमा बंगलादेशका शेख मोहम्मन साने र हैदर मोहम्मद इमरानको जोडी श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडी १३–२१ र १७–२१ ले पराजित भयो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग १८–२१ र १३–२१ ल हार व्यहोर्यो ।
बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद शाहजहा अलिको जोडी श्रीलंकाको प्रदीप असंका र अशेन कुमाराको जोडीसँग १८–२१ र ११–२१ ले पराजित बन्यो । माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीले पाकिस्तानको मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीलाई २१–१९ र २१–१७ ले हराउन सफल भयो ।
श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीलाई २१–१० र २१–१६ को सेटमा हरायो । श्रीलंकाकै प्रदीप असंका र अशेन कुमाराको जोडीले माल्दिभ्सका एडम नसीम र मोहम्मद अलिको जोडीलाई २१–१४ र २१–१३ को सेटमा हरायो ।
हालसम्म पुरुषतर्फ समूह ‘ए’ र समूह ‘बी’ मा श्रीलंकाका दुई टिम ६÷६ अंकसहित शीर्षस्थानमा छन् । नेपालको दुबै टिम अंक तालिकाको तेस्रो स्थानमा छन् ।