काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा पुरुष ८७ केजी माथिको गेरुगीमा सक्षमले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् ।
स्वर्ण जित्ने क्रममा सक्षमले वाकर अली खानलाई २७-९ ले पराजित गरे ।
भारत र श्रीलंकाका खेलाडीले यस स्पर्धामा कास्य जित्यो ।
सक्षमले स्वर्ण जितेसँगै साग खेलकुदको इतिहासमा नेपालको स्वर्ण संख्या १०० पुगेको छ ।
घरेलु भूमिमा जारी १३ औं सागमा २९ स्वर्ण जितेसँगै नेपालले स्वर्णमा शतक पुरा गरेको हो ।
१२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण जितेको थियो ।