काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको उपाधिका लागि नेपालले आज (मंगलबार) भारतसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा महिलातर्फको स्वर्णका लागि नेपालले भारतसँग अपरान्ह ४ बजेपछि खेल्नेछ ।
भारतविरुद्ध कोर्ट उत्रदा नेपाल ऐतिहासिक स्वर्णको लक्ष्यमा हुनेछ । नेपाल सागको भलिबलमा पहिलो स्वर्णको खोजीमा रहेको छ । तर, नेपालले बलियो प्रतिद्वन्दी भारतको चुनौती समाप्त गर्नु पर्ने हुन्छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट जसरि पनि स्वर्ण ल्याउने पक्षमा रहेका छन् ।
श्रीलंकासँग नजितेको भए कास्यका लागि खेल्नुपथ्र्यो । तर हामीले जितेका छौ । रजत पदक आईसकेको छ । अब भित्तामा स्वर्ण छ । अब रजत पदक फालेर स्वर्ण घाँटीमा लगाउनुछ । अब केही समस्या छैन,’ प्रशिक्षक भट्टले भने ।
समूह चरणको खेलमा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाललाई फाइनलमा थप दबाब हुनेछ ।
प्रशिक्षक भट्ट श्रीलंकालाई हराएपछि खेलाडीको मनोबल उच्च रहेको बताउदै भारतलाई पराजित गर्न सकिने बताउँछन् ।
‘खेलाडीहरु मानसिक रुपमा तयार भैसकेका छन् । भारतलाई हराउने रणनीति बनाएका छौ । त्यसमा सफल हुुदै खेल जित्छौ,’ उनले थपे, ‘भोलि बिना दबाब खेल्दै स्वर्ण पदकका लागि भारतसंग खेल्नेछौ ।'
पुरुषतर्फको फाइनलमा भने पाकिस्तानले भारतसँग खेल्नेछ ।