काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा सोमबार नेपालले ७ स्वर्णसहित ९ पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा ९ स्पर्धाको खेलमा नेपालले ७ स्वर्ण र २ रजत जितेको हो ।
नेपालका सिनियर पुरुष एकल कातामा मण्डे काजी श्रेष्ठले स्वर्ण जिते । यस्तै नेपालको महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक जित्यो ।
पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ केजी र विप्लब लाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जित्दा महिलातर्फ कुसुम खड्काले ४५ केजी मुनि र ५० केजी मुनि अनु अधिकारीले स्वर्ण जितिन् ।
पुरुष कुमुतेमा दिवश श्रेष्ठले रजत र महिला कातामा चन्चला दनुवारले रजत जितिन् ।