काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेकी एथ्लेटिक्सकी एक खेलाडी बन्द प्रशिक्षण छाडेर कतार हिडेकी छिन् ।
विभागीय टिम आर्मीबाट खेल्दै आएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर कतार हिडेकी हुन् ।
उनी ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा नेपालको प्रतिनिधित्व गर्दै थिईन् ।
सागको औपचारिक उद्घाटन आईतबार हुदैछ । तर एथ्लेटिक्समा नेपालको चुनौती पेश गर्ने खेलाडी भने तीन दिन अघि बन्द प्रशिक्षणबाट भागेर कतार हिडेकी हुन् ।
उनले गत महिना चीनमा भएको सैन्य प्रतियोगितामा ४ सय मिटर दौडमा देशका लागि नयाँ कीर्तिमान कायम गरेकी थिईन् ।
उनले आठौं राष्ट्रिय खेलकुदमा ४ सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् । उनले निर्धारित दुरी ५९ दशमलव ९१ सेकेण्डमा पार गरेकी थिईन् ।
उनी विभागीय टिम आर्मीकी खेलाडी हुन् ।
‘देशका लागि खेल्ने ई्रच्छा हुँदा हुदै झुट बोले । आफ्नो लाईफ बनाउन कतार हिडे ।’ उनले प्रशिक्षकलाई पठाएको सन्देशमा भनेकी छिन् ।
पुजाका लागि भन्दै बिहिबार बिहान प्रशिक्षणमा तुलसा सहभागी नभएको एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले खेलपाटीलाई बताए ।
‘दिउँसको प्रशिक्षणमा समेत सहभागी नभएपछि उनको खोजी भयो । तर उनी त्यो समयसम्म कतार उडिसकेकी थिईन् ।’ गुरुङले भने ।
कीर्तिमानी खेलाडी तुलसाबाट नेपालले पदक आशा गरेको थियो । तर उनी प्रतियोगिताको मुखैमा देश छाडेर खाडीमा काम गर्न हिडेकी छिन् ।