काठमाडौं । ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि बुङमतिको खोकनास्थित आफ्नै हातामा सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत ब्वाइज बास्केटबलमा त्रिज्योतिले आयोजक ज्ञानोदयलाई ४५–४१ ले पराजित गर्दै विजयी सुरुआत गर्यो । त्रिज्योतिका निशान श्रेष्ठले २२ स्कोर गरे ।
गर्ल्स बास्केटबलमा रिलायन्सले लिटिल एन्जल्स (एलए) लाई २२–८ ले हरायो । रिलायन्सकी निम छोडेन शेर्पाले १२ अंक जोडिन् ।
ब्वाइज फुटबलमा एलएले इनोभेटिभलाई ७–० गोलले पाखा लगायो । एलएका सुशांक गुरुङ र मुनाल थापाले समान २–२ तथा आदर्श विष्ट, बसन्त दुरा र आयुश बलामीले १–१ गोल गरे ।
प्रतियोगिताको केन्द्रीय प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे । छात्र फुटबलमा १२, बास्केटबलको छात्रमा १२ र छात्रामा १० तथा नेटबलमा ८ टिम सहभागी छन् ।
प्लस टु बास्केटबलको छात्रमा ९ तथा छात्रामा ८ टिमले भाग लिएका छन् । नेटबल पहिलो पटक राखिएको हो ।