काठमाडौं । बंगलादेशमा आयोजना भएको पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले ८ स्वर्णसहित कुल १९ पदक जितेको छ ।
ढाकामा भएको च्याम्पियनसिपमा नेपालले ८ स्वर्ण, ३ रजत र ८ कास्यगरि १९ पदक जितेको हो ।
नेपालका लागि महिला कुमुतेतर्फ कुसुम खड्काले ४८ केजी र मनिषा चौधरीले ५५ केजीमा स्वर्ण पदक हात पारिन् । यस्तै पुरुष कुमुतेतर्फ राजिब पुडासैनीले ६० केजी र विप्लब लाल श्रेष्ठले ८४ केजी माथिको तौल समूहमा स्वर्ण जिते ।
यस्तै चन्चला दनुवारले महिला एकल काता स्वर्ण पदक जितिन् । नेपालले महिला टिम काता र पुरुष टिम कातामा समेत स्वर्ण जित्यो ।
महिला टिममा सरु कार्की, संगिता मगर र निर्मला तामाङ रहदा पुरुष टिममा मण्डेकाजी श्रेष्ठ,महसुस माेक्तान,प्रबिन मानन्धर रहेका थिए ।
अनु अधिकारी,शनि तामाङ, एस्तर राई र रिता कार्की रहेको महिला टिम कुमुतेले पनि नेपाललाई स्वर्ण दिलाए ।
मुकुन्द्र महर्जन, नवीन रसाइली,दिवस श्रेष्ठ,लेखनाथ मैनाली, राज कुमार रसाइली र सुशील पाैडेल रहेको पुरुष टिम कुमुतेमा भने नेपालले रजत हात पार्यो ।
कुमुतेको ५५ केजीमा लक्ष्मण तामाङ र ७६ केजी माथिको कुमुतेमा अनुपमा मगरले रजत जिते ।
त्यस्तै पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठ, ५० केजी महिला कुमुतेमा अनु अधिकारी, ६१ केजी कुमुतेमा अनु गुरुङ, ६७ केजी कुमुतेमा सुनिता महर्जन, ५० केजी कुमुतेमा सोनाम लामा, ६७ केजी कुमुतेमा नविन रसाइली, ७५ केजी कुमुतेमा गंगा कुसवार र ८४ केजी कुमुतेमा दिवस श्रेष्ठले नेपाललाई कास्य दिलाए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मलेसियामा तयारी गरेर नेपाली टिम प्रतियोगिता खेल्न बंगलादेश पुगेका थिए ।
तस्बिर - मण्डेकाजी श्रेष्ठ