काठमाडौं । एपीएफका विक्रम चौधरी र कैलालीका सम्राट चौधरी प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको खेलमा विक्रमले बाजुराका हिमाल खड्का, सम्राटले थानकोटका मनीष श्रेष्ठलाई पराजित गरे ।
यस्तै कास्कीका रामबहादुर गरन्जा र झापाका तोविन प्रधान पनि सेमिफाइनलमा पुगेका छन् । रामले गुल्मीका टोपबहादुर कला र तोविनले बीएफसीका मार्सल गुरुङलाई पराजित गरे ।
नेपाल बक्सिङ संघको प्राविधिक सहयोग तथा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४९ केजीमा झापाका धर्मेन्द्र राईले अल्फाका भानुभत्त ओली, बीएफसीका रबन अलीले पोखराका दर्शन गुरुङ, उदयपुरका लक्ष्मण राईले गुल्मीका कुमार बुढा मगर र दाङका सुरज ओलीले थानकोटका सोहन गोपालीलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष ५२ केजीमा मकवानपुरका अनन्त ओझाले उदयपुरका बसन्त राई, दमकका रोहन मलिकले अल्टिमेटका अर्जुन तामाङ, कास्कीका सुरज गुरुङले झापाका प्रवीण बयल्कोटी र कैलालीका कृष्ण भट्टराईले दाङका नरेन्द्र रोकालाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष ५६ केजीमा बाजुराका विपिन विमलीले बौद्धका सोनाम शेर्पा, पोखराका जिनेश गुरुङले मकवानपुरका सुजन थिङ, कास्कीका सरोज विकले कञ्चनपुरका जीवन चन्द र पाल्पाका ज्ञानेन्द्र कमामुले दाङका पवन विकलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
पुरुष ६० केजीमा पाटनका रायन महर्जनले बानुज बक्सिङ क्लबका शिरिश महर्जन, दाङका अनिलकुमार पुन मगरले कञ्चनपुरका नवीन जागरी, कैलालीका निर्मल सुवेदीले पाल्पाका विशाल घर्ती मगर र बाँकेका इन्द्रबहादुर सुनुवारले बीएफसीका अमन अलीको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे ।