काठमाडौं । भारतका स्वर्णराज बोरा र मलेसियाका सेङ जोय योहले अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइन खेलमा स्वर्णराजले नेपालका प्रतिभाशाली युवा खेलाडी प्रिन्स दाहाललाई २१–१७, २१–१३ को सोझो सेटमा हराए ।
अर्को खेलमा सेङले भारतका कात्तिकेय सुल्सान कुमारलाई २१–१३, २१–१२ ले हराउँदै फाइनलमा स्थान बनाए ।
यसैगरी महिला एकल तर्फको उपाधि भारतले जित्ने पक्का भएको छ । भारतकी माल्विका बानसोट र गायत्री गोपीचन्द पुलेलाले फाइनलमा स्थान बनाएपछि यस उपाधि भारतको पक्का भएको हो ।
पहिलो सेमिफाइनलमा माल्विकाले चाइनेज ताइपेईकी यु चेहलाई २१–६, २२–२० ले हराउँदै फाइनलमा पुगिन् । अर्को खेलमा गायत्रीले जापानकी युरी नाकामुरासँग वाकओभर पाएकी थिईन् । युरी पारिवारिक कामका लागि अकस्मात खेल त्यागेर जापान गएकी थिईन् ।
पुरुष डबल्सतर्फ भारतका रोहन कपुर र सौरभ शर्माको जोडी फाइनलमा प्रवेश गरेका छन् ।
रोहन र सौरवको जोडीले नेपालका विजित थापामगर र विकास श्रेष्ठको जोडीलाई २१–१३, २१–१३ को सेटमा हराए । फाइनलमा रोहन र सौरभको जोडीले मलेसियाका मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । शनिबारनै भएको अर्को सेमिफाइनलमा इजात र जाचेरीको जोडीले नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीलाई १८–२१, २१–१०, २३–२१ को सेटमा हराए
मिक्स डबल्समा भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडी फाइनलमा प्रवेश गरेका छन् ।
भेनकाट र जुहीको जोडीले नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीलाई २१–१७, १८–२१, २१–१२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
फाइनलमा उक्त जोडीले थाइल्यान्डका बोरनवाटानोउङ फुथापोर्न र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
सेमिफाइनलमा बोरनवाटानोउङ र रिरिनको जोडीले भारतका सौरभ शर्मा र अनुस्का पारिखको जोडीलाई २१–१६, १६–२१, २१–१९ ले पाखा लगायो ।
महिला डबल्समा नेपालकी पुजा श्रेष्ठ र नङ्शल तामाङको जोडीले निता लम्साल र सिमा राजवंशीको जोडीलाई २१–१५, २१–१४ ले हराउँदै फाइनलमा पुगेका छन्।
अर्को सेमिफाइनल खेलमा नेपालकी जेसिका गुरुङ र अनुमाया राईको जोडीले सिता राई र सम्झना शर्माको जोडीलाई २१–१५, १५–२१, २१–८ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे ।