काठमाडौं । नेपाल वादोरियो कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित स्वागत कार्यक्रममा पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
अष्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सोकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका रजत विजेता सिमोन खत्री तथा कम्बोडियामा भएको दोश्रो कामित्सुमा ओकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका कांस्य विजेताद्वय पुरुषोत्तम पोखरेल र विशाल खड्गी सम्मानित भए ।
त्यस्तै भारतको अहमदावादमा भएको आईएसकेयु अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका स्वर्ण विजेता विकबहादुर थामी, गरिमा गिरी र सिम्मा राई, रजतधारी विशाल खड्गी, निरज गौतम र राजु बुढाथोकी तथा कांस्य विजेता अजय तामाङ र जिलेदार थारु पनि सम्मानित भए ।
भारतकै विशाखापट्नममा भएको तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका स्वर्ण विजेता चित्रप्रसाद श्रेष्ठ, निमा तामाङ, निखिल पकुवाल र राजकुमार तामाङ तथा रजत विजेता विशाल खड्गीलाई पनि सोही अवसरमा सम्मान गरियो ।
उनीहरुलाई सदस्य–सचिव सिलवालले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले सदस्य–सचिव सिलवाललाई मायाको चिनो प्रदान गरेका थिए ।