काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले बक्सिङमा १६ खेलाडी छनोट गरेको छ ।
नेपाल बक्सिङ संघले आयोजना गरेको छनोटबाट सागका लागि १६ खेलाडी छनोट भएका हुन् । मंगलबार सम्पन्न छनोटबाट १० पुरुष र ६ महिला खेलाडी सागका लागि छनोट भएका हुन् ।
लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार पुरुषतर्फ ४९ केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए ।
फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले नै स्तब्ध बनाएका थिए । विकासले भने फाइनलमा प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश बनाए ।
पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए । दीपकले फाइनलमा प्रदेश–३ का भूमीलाल दिवसलाई ५–० ले पराजित गरेका थिए । मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाले ।
महिलातर्फको ५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन् । ६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन् । उनले फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ ले स्तब्ध बनाइन् ।
यसअघि सोमबार पुरुषततर्फ ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्पm भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए ।