काठमाडौं । पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेका छन् ।
यही असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले ५० केजी तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५ केजी, सुरज तामाङले ६५ केजी, सरोज कार्कीले ७५ केजी, सरलराज तामाङले ५५ केजी, करुणा कामीले ५० केजी, आरती गुरुङले ५५ केजी र सुमिना थापा मगरले ५० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
यसैगरी अफिसियलमा रोहित क्षत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठ छन् ।
नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सुमन तिमल्सिनाले निर्वाह गर्ने छन् । टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाइ संघका अध्यक्ष विदुर कुँवरले मंगलबार नै बिदाइ गरे ।