काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट ८ खेलाडी छनोट भएका छन् ।
लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार पुरुषतर्फ ५ र महिलामा ३ खेलाडी छनोट भएका हुन् ।
सोमबार भएको महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा ५–० ले पराजित गरिन् ।
महिला ५१ केजीमा एपीएफकी माला राईले प्रदेश ३ की रोशनी राईलाई अंकका आधारमा ५–० ले हराउदै सागका लागि छनोट भईन् । महिलाकै ६० केजी एपीएफकी संगिता सुनुवार छनोट भएका छन् । संगीता सुनुवारले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा ५–० ले पराजित गरिन् ।
यस्तै पुरुषतर्फ ५२ केजीमा आर्मीका तेज बहादुर देउवाले पुलिसका चन्द्र बहादुर थापालाई अंकका आधारमा ५–० ले पराजित गर्दै छनोट भए । पुरुष ६० केजी तौल समुहमा आर्मीका विमल रोकाले खेल परित्याग(वाकओभर)गरे पछि प्रदेश ३ का सनिल साही छनोट भएका छन् ।
पुरुष ६४ केजीमा पुलिसका भुपेन्द्र थापाले आर्मीका सुरेश नेपालीलाई अंकका आधारमा ४–१ ले हराउदै छनोट भएका छन् ।
पुरुष ९१ केजीमा आर्मीका अर्जुन सिंगुले एपीएफका गोकुल गुरुङलाई अंकका अधारमा ४–१ ले हराउदै छनोट भएका छन् ।
पुरुषकै ९१ केजी भन्दा माथीको तौल समूहमा आर्मीका आशिष दवाडी छनोट भएका छन् । प्रदेश ३ का सनी जुवा तेश्रो राउण्डमा घाईते भएपछि दवाडी छनोट भएका हुन ।