काठमाडौं । तेस्रो संस्करणको काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ ।
युनाइटेड तेक्वान्दो डोजाङले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको च्याम्पियनसिप शुक्रबारबाट हुने जनाएको छ ।
च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा हुने च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसिया बाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् ।
अधिकांश राष्ट्रबाट राष्ट्रिय खेलाडी सहभागी हुने भएकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका नेपालका राष्ट्रिय खेलाडीले पनि प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए । उनका अनुसार विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको क्याडेट, जुनियर र सिनियर विधामा प्रतिस्पर्धा हुनेछ ।
क्याडेटको पुरुष तथा महिलातर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलामा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै सिनियरको महिला र पुरुषमा आठ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी महिला पुरुषको व्यक्तिगत, जोडी र टिम स्पर्धाको १२ वर्षदेखि ४० वर्षसम्मका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
आफ्नै देशमा आयोजना हुन लागेको १३औं सागको तयारीमा रहेका खेलाडीले समेत अन्तर्राष्ट्रिय एक्सपोजर पाउने र नेपाल सरकारको बहुप्रतिक्षित नेपाल भ्रमणको प्रचारप्रसारमा पनि टेवा पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख प्रायोजक टाइगर्स ब्रुअरीकी कार्यकारी निर्देशक इश्वरी खड्काको पनि उपस्थिति थियो ।