काठमाडौं । नवौं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय र्याकिङ ब्याडमिन्टन प्रतियोगिता भोलि (मंगलबार) बाट सुरु हुने भएको छ ।
नेपाल खेलकुद महासंघको तत्वाधान, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता इटहरी रंगशालाको कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा पुरुषको शीर्ष १६ वरियता तथा महिलाको शीर्ष १२ वरियताको एकलमा प्रतिस्पर्धा हुनेछ । उक्त वरियता बाहेकको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल र ४५ वर्ष माथिको पुरुष भेट्रान्स युगलमा पनि प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ शीर्ष १६ वरियता तथा महिलातर्फ शीर्ष १२ वरियतामा रहेका खेलाडीबीच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । उक्त वरियता बाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा उच्च वरियताबीचको पुरुष तथा महिला एकलमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमस ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्ने छन् ।
यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका शीर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्ने छन् ।
नेपालमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन गर्ने योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरुष खुलातर्फ ६२, महिला खुलातर्फ १६, पुरुष युगलतर्फ ३६ जोडी, महिला युगलतर्फ ११ जोडी, छात्रतर्फ ५५ र छात्रातर्फ ११ तथा भेट्रान्सतर्फ ३१ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।