काठमाडौं । पहिलो संस्करणको अल नेपाल ओपन फुल कन्ट्याक्ट कराते शुक्रबारबाट पोखरामा सुरु हुने भएको छ ।
आयोजक नेपाल क्योकुसिन-कान कराते एसोसियसनले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता भदौ १३ र १४ गते हुने जानकारी गराएको छ ।
पोखरा रंगशालाको कबर्डहलमा हुने प्रतियोगितामा १७ वटा फुल कन्ट्याक्ट कराते संघ र तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसहित २० टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पुरुष र महिलामा गरि १४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक तौल समूहमा एक टोलीबाट एक मात्र खेलाडीले खेल्न पाउने छन् । प्रतियोगितामा कुल २७६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा ३६ जना रेफ्रीहरुले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।