काठमाडौं । नेपाल बक्सिङ संघका सदस्य एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक श्याम अवालेले १३ औं सागका लागि थाइल्याण्डमा प्रशिक्षण गरिरहेका नेपाली बक्सिङ टोलीको निरीक्षण गरेका छन् ।
सदस्य अवालेले मंगलबार विगत दुई महिनादेखि प्रशिक्षणमा रहेका २० सदस्यीय नेपाली टोलीको निरीक्षण गर्दै तयारीबारे जानकारी लिएका छन् । निरीक्षणको दौरान अवालेले थाइल्याण्ड बक्सिङ संघलाई धन्यवाद दिदै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै थाइल्याण्ड बक्सिङ संघका निर्देशक क्राइताच काइकातेले नेपाल र थाइल्याण्डबीच लामो सम्बन्ध रहेको स्मरण गराउदै नेपाली बक्सिङको विकासमा सदैव सहयोग रहने प्रतिबद्धता जनाए ।
थाइल्याण्ड बक्सिङका मुख्य प्रशिक्षक सुवानले नेपाली खेलाडी निकै मेहनती भएको बताउँदै थाइल्याण्डका खेलाडीसँग तालिम गराउन पाउदा हौसला मिलेको बताएका थिए ।
नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले दुई महिनाको थाइल्याण्डको तालिम फलदायी भएको बताए ।
यस्तै नेपालका खेलाडी भुपेन्द्र थापा मगरले तालिमले सम्पूर्ण खेलाडीको मनोबल उच्च बनाएको बताउँदै अन्य थप तालिम लिन सके सागमा पदक जित्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सदस्य अवालेले थप वैदेशिक प्रशिक्षणका लागि विभिन्न देशहरुमा बक्सिङ संघले प्रयत्न गरिहेको जानकारी गराए ।
नेपाली टोली भदौ ११ गते नेपाल फर्किने छ ।