काठमाडौं । योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता प्रदेश नम्बर-१ को इटहरीमा हुने भएको छ ।
खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता भदौ २४ देखि २८ गतेसम्म हुने भएको छ ।
इटहरीस्थित रंगशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १९० खेलाडीले १० स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा पुरुषको शीर्ष १६ वरियता तथा महिलाको शीर्ष १२ वरियताको एकलमा प्रतिस्पर्धा हुनेछ । उक्त वरियता बाहेकको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल र ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगलमा पनि प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ शीर्ष १६ वरियता तथा महिलातर्फ शीर्ष १२ वरियतामा रहेका खेलाडीबीच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । उक्त वरियता बाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा उच्च वरियताबीचको पुरुष तथा महिला एकलमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमस ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्ने छन् ।
यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका शीर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्ने छन् ।