काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङ चौथो काठमाडौं जिल्लास्तरीय पुम्से तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा मुलपानीले ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको सुप्रिम स्कुलले २ स्वर्ण र २ रजत हात पार्यो । २ स्वर्ण र १ रजतसाथ बालाजु तेक्वान्दो डोजाङले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा मुलपानीका पुष्पप्रसाद गौतम तथा महिलामा कोटेश्वर तेक्वान्दो डोजाङका सन्ध्या लामा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई प्रदेश ३ तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पुर्राएवापत युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिलबहादुर गुरुङ तथा नेपाल तेक्वान्दो संघका सदस्य हेमन्त डाँगीलाई सम्मान गरिएको थियो ।