काठमाडौं । क्यारिबियन स्कुलका डेभिड थापा मगर र ब्रिटिस स्कुलकी सम्भवी पालकले दोस्रो संस्करणको काठमाडौं ब्याडिमिन्टन च्याम्पियनसिप अन्तर्गत यू-१४ तर्फको उपाधि जितेका छन् ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति हलमा शुक्रबार भएको यू–१४ को पुरुषतर्फको फाइनलमा डेभिडले काठमाडौं मेरीडिएन स्कुलका अभियान कस्यपलाई २१–१३ र २१–१० को पराजित गर्दै उपाधि हात पारे ।
यस्तै, यू–१४ महिलातर्फ सम्भवीले ग्यालेक्सी स्कुलकी निमा यान्जी शेर्पालाई २१–१० र २१–४ ले हराउदै विजेता बनिन् ।
प्रतियोगिता अन्तर्गत नै यू–१२ पुरुषतर्फ भ्याली भ्यु स्कुलका सक्षम ढकालले बुद्ध इन्टरनेशनल स्कुलका काकेश सत्याललाई २१–१३ र २१–५ ले हराए ।
यसैगरी यू–१२ को महिलातर्फ ब्रिटिस स्कुलकी सम्भवी पालकले ग्यालेक्सीकी श्रेया शेर्पालाई २१–२ र २१–७ ले हराउदै उपाधि जितेकी छिन् । सम्भवीले प्रतियोगिताको दुवै विधामा स्वर्ण जितेकी हुन् ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको च्याम्पियनसिपको यू–१४ को दुवैतर्फको विजेताले ३०, उपविजेताले १५ र तेस्रोले १०–१० हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै यू–१२ को महिला र पुरुषको विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १०–१० हजार प्राप्त गरे ।
सोही अवसरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक महेन्द्रलाल श्रेष्ठलाई कदर पत्र र नगद १० हजार बाट जिल्ला संघले सम्मान गरेको थियो । उनलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संघिय प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए ।
यस्तै विजयी खेलाडीहरुलाई प्रमुख अतिथी श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष संजीव रेग्मी, ओलम्पियन दीपक बिष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।