काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप कात्तिक पहिलो साता चितवनमा आयोजना हुने भएको छ ।
रत्ननगर तेक्वान्दो डोजाङले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने जनाएको छ ।
अमेरिकाको पोर्टल्याण्डमा रहेको अन्तराष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप र ललितपुरको मैत्री डोजाङको सहयोग र सहकार्यमा हुने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरि ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेतर्फ पुरुषमा ५ र महिलामा ४ गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ६५ स्वर्ण,६५ रजत र १३० कास्यगरि कुल २ सय ६० पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सिनियर पुरुष र महिलाको ६/६ तौल समूहमा पहिलो हुने खेलाडीमा पुन: छनोट गरेर उत्कृष्ट हुने ३ पुरुष र २ महिला खेलाडीलाई जनही १/१ लाख प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै ती पाँच खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिभर्सिटीमा आगामी मे १ र २ आयोजना हुने १३ औं अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप खेल्न पाउने छन् ।
उक्त प्रतियोगितामा पुरुषतर्फ ५४ देखि ५८ केजी, ६३ देखि ६८ र ७३ देखि ८० केजी तौल समूहका एक एक खेलाडीले खेल्नेछन् । महिलातर्फ ४६ देखि ४९ र ५३ देखि ५७ केजी तौल समूहका एक एक खेलाडीले खेल्ने छन् ।