काठमाडौं । नेपाल तेक्वान्दो संघले हाई अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै तेक्वान्दोको उच्च क्षेत्रमा प्रशिक्षण गर्नका लागि हाई अल्टिच्युड ट्रेनिङ सेन्टर दोलखामा निर्माण गर्ने जनाएको छ । दोलखाको शैलुङ क्षेत्रमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण हुनेछ ।
शैलुङ गाँउपालिका र तेक्वान्दो संघबीच मंगलबार जग्गा भोगचलन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र संघका अध्यक्ष प्रकाश शमशेर राणाले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै गाउँपालिकाले ट्रेनिङ सेन्टरका लागि करिब २ हजार ८ सय मिटरदेखि ३ हजार मिटरको उचाईमा रहेको ५ रोपनी क्षेत्रफलको जग्गा संघलाई उपलब्ध गराउनेछ ।
शैलुङ गाउँपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुने ट्रेनिङ सेन्टर ३ वर्षभित्र सक्ने तयारी भएको संघका महासचिव दिप राज गुरुङले बताए ।