काठमाडौं । विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघले सोमबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप साउन २१ देखि २४ गतेसम्म संचालन हुने जनाएको छ ।
च्याम्पियनसिपमा यू-१२ र यू-१४ उमेर समूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष दिपक थापाले जानकारी गराए । जसमा पुरुष एकल, महिला एकल र मिक्स डबलमा प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुरका प्याब्सन, एनप्याब्सन र सामुदायिक विधालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । च्याम्पियनसिपमा ९ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपको यू-१२ को महिला र पुरुष दुवैको विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १०/१० हजार प्राप्त गर्ने छन् ।
यस्तै यू-१४ को दुवैतर्फको विजेताले ३०, उपविजेताले १५ र तेस्रोले १०/१० हजार पाउने छन् ।
मिक्स डबलतर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १०/१० हजार पाउने छन् ।
प्याब्सन काठमाडौंसँगको सहकार्यमा हुने च्याम्पियनसिप कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको त्रिभुवन स्मृति हलमा हुनेछ ।