काठमाडौं । थाईल्याण्ड ओपन कराते च्याम्पियनसिपमा नेपालबाट ११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यहि आषाढ २५ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा नेपालबाट सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी), मण्डेकाजी श्रेष्ठ (एकल तथा टिम काता), सुभाष कार्की तथा प्रविन मानन्धर (टिम काता), सनि तामाङ्ग (६८ केजी), अस्मिता राई (५३ केजी) चन्चला दनुवार (एकल काता), निर्मला तामाङ्ग, सरु कार्की र कोपिला बिष्ट (टिम काता) ले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन् । यस्तै प्रशिक्षकमा कुशल श्रेष्ठ र गंगाराम महर्जन रहेका छन् ।
मंगलबार थाइल्याण्ड जाने नेपाली टोलीलाई सोमबार तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, तालिम तथा प्रशिक्षण विभाग प्रमुख महेन्द्र कुमार राई तथा नेपाल कराते महासंघका महासचिव हरिसरण केसीले विदाई गरेका थिए ।