एक समय खेलकुद मनोरञ्जनको साधन मात्र थियो । विद्यालयमा स्वस्थ रहनका लागि खेलकुद आवस्यक छ भनेर पढाइन्थ्यो, अझै पढाइन्छ । तर समय बदलिएको छ । खेलकुद अब मनोरञ्जन र स्वास्थ्यको साधन मात्र रहेन, यो त राष्ट्रहरुको समग्र प्रतिष्ठाकै विषय बनेको छ । ठुला ठुला अर्थराजनीति खेलकुदसँग जोडिन थालेका छन् ।
कुन देशले कतिपटक कुन खेलकुद प्रतियोगिताको उपाधि जितेको छ भन्ने कुराले विश्वमा उसको उचाई मापन हुने अवस्था सृजना हुँदैछ । विकासको चुलीमा पुगेका मुलुक मात्र होइन विकासशिल र गरिब राष्ट्रसम्म खेलकुदको झंकार समान रुपमा गुञ्जिन थालेको छ । सूचना प्रविधिको विकाससँगै समाजको तल्लो तहसम्म यसको प्रभाव विस्तार भएकोे छ ।
संचारका साधन र इन्टरनेटको तिव्र विकासले नेपालमा पनि खेलकुदप्रतिको चासो जरा सम्म फैलिएको छ । अन्तराष्ट्रिय स्तरमा उल्लेख्य प्रगति गर्न नसकेपनि नेपालमा खेलकुदप्रति चासो राख्ने ठुलो समुहको हौसला हेर्दा जो कसैको छाति गर्वले फुल्छ । क्रिकेट, फुटबलका ठुला प्रतियोगितासँगै ओलम्पिक र घरेलु प्रतियोगितामा देखिने उत्साह हेरेर यति भन्न सकिन्छ खेलकुद अब हरेक नेपालको अभिन्न सँस्कृति नै बनेको छ ।
यति ठुलो महत्व भएको खेलकुद क्षेत्र नेपालको पत्रकारितामा भने किनारामा परेको छ । मुलधार भनिएका संचारमाध्यममा अपवाद वाहेक खेलकुदका समाचारले प्राथमिकता पाउँदैनन् । यद्यपी उनिहरुमा पछिल्लो पटक खेलकुदको महत्वबोध भने हुँदै गएको देखिन्छ । समाजिक संजाल खेलकुद बहसको मुख्य माध्यम बन्न पुगेको छ । तर त्यसले खेलप्रेमीको भोक मेटन सकेको छैन । एकातिर खेलकुद सामाग्रीको ठुलो माग अनि अर्कातिर सिमित आपुर्तिकाबीचमा ठुलो खाडल देखिन्छ ।
यही खाडल केही हदसम्म पुर्ने लक्ष्य सहित हामी आएका छौं । खेलसँग सम्बन्धित सूचना, विचार, विष्लेषणलाई सकेसम्म मल्टिमिडियाको माध्यमबाट पाठक समक्ष पुर्याउन हामीले प्रयास गर्नेछौं । यो प्रयासले समग्र खेल क्षेत्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा समेत गरेका छौं ।
संसारभर विश्वकप फुटवलको ज्वरो बढेको छ । नेपालमा त झन् यो उत्कर्षमा छ । एउटा सुखद संयोग विश्वकप उद्घाटनको संघारमा खेलपाटीको पनि शुभारम्भ भएको छ । यो अवसरमा हाम्रा पाठकसमक्ष केही प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । खेलपाटी सबैखालका आग्रह, पुर्वाग्रहबाट मुक्त हुनेछ । यसले तथ्यमा आधारित रहेर निष्पक्षतापूर्वक खेलसँग सम्बन्धित सामाग्री प्रकाशन गर्नेछ । पाठकका चाहनालाई ध्यानमा राखेर अडियो, भिडीयो सामाग्रीलाई प्राथमिकता दिनेछ ।
खेलपाटी समग्र खेलक्षेत्रको आवाज बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । यसको विकास र विस्तारका लागि तपाईका अमुल्य सल्लाह, सुझाव र प्रतिक्रियाको खाँचो छ । आउनुहोस सहकार्य गरेर लामो दुरीको यात्रा तय गरौं ।