काठमाडौं । इटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाडमा नेपालबाट पाँच तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल तेक्वान्दो संघले बिहिबार प्रतियोगिताका लागि इटाली जाने ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई विदाई गरेको छ ।
तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्ने छ । खेलाडीहरुमा सक्षम कार्कीले ८० केजी मूनि, उमेश राज भण्डारीले ६२ केजी मूनि, नम्रता तुलाधारले ६२ केजी मूनि, अश्मिता खड्काले ४९ केजी मूनि र पार्वती गुरुङ्गले एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा साग गेमका किर्तिमानधारी दीपक बिष्टले गर्ने छन् । बिष्टले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।
जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङ्गमा सहभागिता जनाउने छ । ३० औं संस्करण सम्म आईपुग्दा नेपालले भने पाँचौ पटक सहभागिता जनाउँदै छ ।
ओलम्पिककै झझल्को दिने ३० औं समर युनिभर्सियाडमा बिश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढि खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले यस अघि ताईवानमा भएको २९ औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ्ग, टेनिस, टेवल टेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।