काठमाडौं । आर्मीका सुस्मिता लवट र सुशिला चन्दले पहिलो क्लोज प्रोटेक्ट जुडो च्याम्पियनसिपमा मंगलबार महिला तर्फ स्वर्ण हात पार्न सफल भएका छन् ।
ओलम्पिक डे २०१९ को अवसरमा नेपाल जुडो संघको आयोजनामा भएको च्याम्पियनसिपको ५७ केजी मूनीको तौल समूहमा आर्मीकी सुस्मिताले आफ्नै क्लबकी लक्ष्मी तामाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आर्मीकै रोशना दङ्गाल र सुस्मिता थारुले संयुक्त रुपमा कास्य पाए । यस्तै ५७ केजी माथिको तौलमा सुशिलाले आर्मीकै विनिता मगरलाई हराउँदै स्वर्ण कब्जा गरिन् । आर्मीकी सुमित्रा मगर र सिपिजेका भवानी आचार्यले कास्य पाए ।
पुरुष ६० केजी मूनिको तौलमा सिपिजेका शितल थापाले आर्मीका कर्मा तामाङलाई पराजित गर्दै स्वर्णमा नाम लेखाए । आर्मीका तिलक बहादुर देउजा र सिपिजेका दीपक रासकोटीले कास्य पाए । ६६ केजी मूनिको तौलमा आर्मीका राजेश चौधरीले आर्मीकै सुदीप बोहरालाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा सिपिजेका अनिल बलामी र टोपबहादुर पुन रहे ।
७३ केजी मूनिमा आर्मीका जंगबहादुर सारुले स्वर्ण, सिपिजेका अकल भंडारीले रजत तथा आर्मीका भिष्म बराल र सिपिजेका भरत तामाङले कास्य पाए । ७३ केजी माथिको तौलमा आर्मीका रमेश बहादुर चन्दले स्वर्ण हात पार्दा सिपिजेका शिबबहादुर बोहराले रजतमा चित्त बुझाए । आर्मीका अनिल भण्डारी र सिपिजेका दिनेश प्रधानले कास्य पाए ।
नेपाली सेनाका प्रधान सेनापति रथी श्री शरद कुमार गिरीले उद्घाटन गरेको च्याम्पियनसिपका विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी उपत्यका पृतनापति उपरथी श्री निरञ्जन कुमार श्रेष्ठ, बिशेष अतिथी श्री बिष्णु गोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य दीपक हर्ष बज्राचार्य, सैनिक तालिम तथा डक्टिन महानिर्देशक उपरथी श्री शसीचन्द्र बहादुर सिंहले पुरस्कार वितरण गरेका थिए ।