काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्टस् अवार्डसंग गोल्डस्टार जुत्ता जोडिएको छ । आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि गोल्डस्टार मुख्य सह-प्रायोजकको रुपमा जोडिएको हो ।
मञ्च र गोल्डस्टारको उत्पादक किरण सु म्यानुफ्याक्चरबीच आइतबार मुख्य सह-प्रायोजक (पावर्ड बाइ) को रुपमा सम्झौता भएको छ । किरण सु म्यानुफ्याक्चरकी विदुषी राणा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै गोल्डस्टारको उत्पादक किरण सु म्यानुफ्याक्चरले मञ्चलाई नगद १० लाख रुपैयाँ उपलब्ध गराउने छन् ।यस्तै अवार्डका लागि मनोनयनमा परेका विभिन्न विधाका खेलाडी र विजेतालाई आफ्ना उत्पादन सामग्री सहितको गिफ्टह्याम्पर उपलब्ध गराउने छन् ।
काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड असार १७ गते आयोजना हुनेछ । मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।
पिपल्स च्वाइस अवार्डसंगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
यस वर्ष एक नयाँ विधा थप गरिएको छ । थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।
मञ्चले पिपुल्स च्वाइस अवार्ड विधाका लागि ५ खेलाडी मनोनित गरिसकेको छ ।
यस अवार्डका लागि मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।